
काठमाडौँ । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तिकरणका रूपमा हेरिँदै आएको छ ।
समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।
नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । ‘आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ’ उहाँले भन्नुभयो– ‘व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो मोहल तयार हुन्छ, त्यो राम्रो हो ।’ उहाँलाई तीज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ ।
अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तीज हो । ‘पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तीजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ’ उहाँले भन्नुभयो– ‘घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तिकरणको राम्रो दिन बनेको छ ।’
यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उहाँको अनुभव छ । ‘समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तिजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ’ नेतृ हमालले भन्नुभयो– ‘महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ ।’ महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उहाँको ठम्याइ छ ।
सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तीज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा ९ वर्षदेखि ‘तीज उत्सव’ मनाउँदै आउनुभएको छ । यस वर्ष उहाँले सुदूरपश्चिमको कञ्चनपुरमा तीज संवाद गर्नुभएको छ ।
‘तीज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ’ संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भन्नुभयो– ‘नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तीज संवाद मनाउन लागिएको हो ।’
उहाँलाई तीज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै थप्नुभयो– ‘पृत्तिसतात्मक सोचका कारण महिलाले स्वतन्त्रता एकदम कम हुन्छ, शहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।’
महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । ‘एउटा वर्गले श्रीमानका लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थय पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन’ उहाँले थप्नुभयो– ‘महिला सशक्तिकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो ।’
संस्कृतिविद् डा शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनःमिलनको पर्व हो । उहाँले भन्नुभयो– ‘महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुशी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ ।’
डा ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमानको दीर्घायूको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको शुरु भएपछि हरितालिका तीजको महत्व अझ बढ्दै आएको पाइन्छ । तीज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तिकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ । कालिका खड्का /रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश