
काभ्रेपलाञ्चोक। डेढमहिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । शुक्रबार एकै दिन छ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक÷एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुुसार गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २७ पुरुष र ३० महिला छन् । “शुक्रबार एकै दिन छ जनामा डेङ्गी देखिएको छ, सचेतना कार्यक्रम बढाइँदै लैजान्छौँ, व्यक्ति आफैँं पनि सचेत बन्नुपर्दछ”, श्रेष्ठले भन्नुभयो ।
बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित छन् । बनेपा र पनौतीमा १३÷१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन÷तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई÷दुई र तेमाल गाउँपालिकामा एक डेङ्गी सङ्क्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
गत आवमा जिल्लामा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण भएको थियो । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको श्रेष्ठले बताउनुभयो । सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आइएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख श्रेष्ठका अनुसार डेङ्गीको उच्च जोखिममा नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि रहेको छ । लामखुट्टेको टोकाइबाट डेङ्गी लाग्ने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाँले बताउनुभयो ।
डेङ्गी भएका एक्कासि उच्च ज्वरो आउने, पाँचदेखि सात दिनसम्म ज्वरो रहिरहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेशी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।
समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने भएकाले डेङ्गीको शङ्का लागेमा तत्काल स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश