
काठमाडौँ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।
आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।
महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताउनुभयो । राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्वार गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।
महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुर बताउनुहुन्छ । लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उहाँले सुनाउनुभयो । भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको जानकारी पनि कोषले गराएको छ ।
दुई वर्षअघि बैंकले रु पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्वार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनःनिर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ । प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवनको उपयोग गर्ने गरिन्छ । यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।
हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ । महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो