
डोटी। डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउनुहुन्छ ।
यो वर्षका लागि उहाँले चैते धानको बेर्ना छरिसक्नुभएको छ । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भन्नुभयो, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउदा दोब्बर फाइदा हुन्छ ।”
उहाँले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउनुहुन्छ । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ छ ।
चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने उहाँ बताउनुहुन्छ । सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फरल लिन नसकिने उहाँ बताउनुहुन्छ ।
यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका–२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन् । गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बीऊ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बीऊ राखेका छन् ।
कृषि ज्ञानकेन्द्र डोटीबाट चैते धानको बीउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताउनुभयो । उहाँहरुले पहिलो पटक चैते धान रोप्न लागेकाले ढुक्क भने नरहेको धामीले बताउनुभयो । “धान रोप्ने भनेर बीऊ राखेका छौँ मौसमले साथ दिएन भने धान र मेहनत खेर जान्छ होला ।”
कृषि ज्ञानकेन्द्र र किसानका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटीले बताउनुहुन्छ । ज्ञान केन्द्रकै सल्लाहअनुसार बीऊ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरुका साथमा रहेको उहाँले बताउनुभयो । उहाँले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग