
तनहुँ । बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक १५ लाख रुपैयासम्म आम्दानी हुने गरेको सुनाउनुभयो ।
२२ वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत जानुभयो । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किनुभयो । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि शुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ? त्यसैको उदाहरण बन्नुभएको छ ढकाल । शुरुमा दुई–तीन रोपनीमा खेती गरेका उहाँले हाल ५० रोपनीमा विस्तार गर्नुभएको छ ।
‘पहिला अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती शुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु’ ढकालले भन्नुभयो ।
उहाँले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा । पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।
तरकारीखेती गरिरहेको सबै जग्गा भने उहाँको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिनुभएको छ । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाउनुभएको छ । उहाँले भन्नुभयो– ‘उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौली लगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारी तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक ८० लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।’
विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ । ‘तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए । अर्काको देशमा नोकरी गरेर बसेको भए खै ? यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै’ ढकालको भनाइ छ ।
हाल उहाँकी एक छोरी विदेश र छोरा शिक्षक हुनुहुन्छ । ३० लाख खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोड्नुभएको छ । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किन्नुभएको छ । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिनुभयो । ३ वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उहाँले बताउनुभयो । “कृषि व्यवसाय विस्तारका लागि हालसम्म १० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ’ उहाँले खुशी साट्नुभयो ।
व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताउनुभयो । ‘कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो’ उहाँको कथन छ– ‘यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय