
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले एआइआइबीलाई नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्रीले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो ।
‘नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन”, प्रधानमन्त्रीले भन्नुभयो– ‘बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’
सरकार सुशासन, संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धिमार्फत् उच्च आर्थिक वृद्धिको लक्ष्यमा केन्द्रित भएको बताउँनुहुँदै प्रधानमन्त्रीले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
नेपालमा हाल एआइआइबीको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गर्नुभयो । ‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने सम्झौता भएको छ । यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ’ उहाँले भन्नुभयो– ‘ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ । हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु ।’
नेपालमा निजी तथा वैदेशिक लगानी प्रवद्र्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्नुहुँदै दाहालले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो– ‘लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।’
भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशक, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यका रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै