+

ललितपुरमा ४ जनामा हैजा पुष्टि

काठमाडौँ ।  ललितपुरमा ४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ४ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिनुभएको छ । 

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन्  ।  अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताउनुभयो । 

उहाँले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिनुभयो । शाखाका प्रमुख डा पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र त्यो पानी दूषित रहेको बताउनुभयो । ‘इनारको पानीमा दिसाको जीवाणु देखियो’ उहाँले भन्नुभयो– ‘त्यहीबाट हैजा फैलिएको हो ।’ 

उहाँले भागेका २ जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरुबाट अन्यमा सर्ने सम्भावना कम भएको बताउनुभयो । उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर खान अनुरोध गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै