+

भोजपुरको आमचोकमा १४ सय रोपनीमा चियाखेती

भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।

गाउँपालिकाले आफ्नै लगानीमा यहाँ करिब १ हजार ४ सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । 

हालसम्म चियाखेतीका लागि गाउँपालिकाले ४ करोड ५ं० रुपैयाँ लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले  बताउनुभयो । पालिकाका वडा नम्बर १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यी वडामा प्रशस्त खाली जमिन छ ।  यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताउनुभयो । 

‘गाउँपालिकाले योजनाबद्ध रुपमा चियाखेती विस्तार गरिरहेको छ’ अध्यक्ष राईले भन्नुभयो– ‘यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब १ हजार ४ सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ ।’ 

आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उहाँले बताउनुभयो । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।’

स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उहाँले बताउनुभयो । वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले रु नौ हजार र स्वयम व्यक्तिले १ हजार गरी १० हजार रुपैयाँ बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । यहाँका अतिगरिब विपन्न १ हजार १ सय ६३ परिवारलाई शेयर वितरण गरिएको उहाँले बताउनुभयो । 

गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उहाँले बताउनुभयो । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा  चिया र कफीको क्षेत्रमा बृहत्तर रुपमा थप काम गर्ने उहाँले बताउनुभयो । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नम्बर २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनुभयो । गाउँपालिकाको  ४५ लाख र कोशी प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । 

‘गाउँपालिका क्षेत्रको चियाखेतीको सम्भवनालाई मूर्तरुप दिन बृहत रुपमा चियाखेती विस्तारको काम भइरहेको छ’  प्रशासकीय अधिकृत राईले भन्नुभयो– ‘उत्पादित चियाको प्रशोधनका लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भइरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ ।’

दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब ५ लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ ।

चियासँगै कफीखेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट